नेप्सेमा ६.४६ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.४६ अंकले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार तीन अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८० वटाको बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२,३९३.८० रुपैयाँ पुगेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूलय पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १९७८.५० रुपैयाँ पुगेको छ । यसका साथै आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ ।
त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.८४ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ११ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।