वीरगन्जमा अब रातिको समयमा मात्रै निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखिजारी गरेको अनिश्चितकालिन निषेधाज्ञा बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।

सोमबार साँझ ५ बजेदेखि जारी निषेधाज्ञा आदेश सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाइएको थियो भने बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइञ्जेलका लागि जारी निषेधाज्ञा (कफर्यु) बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

गएको बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुसका क्रममा सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर