बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ मा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागि आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले फागुन १५ गते दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले जानकारी दिए । फागुन १३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बोलाइएको उनले बताए ।

मन्त्री लामाका अनुसार बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको बजेट कार्यान्वयनमा देखिएको विवादलगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गरेको छ । यस्तै, बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्तिबापत ४ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले आपतकालीन उद्धारका लागि प्रदेश स्वयंसेवक ब्युरो गठन गर्ने कार्यविधि पास गरेको मन्त्री लामाले जानकारी दिए ।

विपद्जन्य घटना हुँदा परिचालन गर्ने गरी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि गठन भएको बोर्डलाई १६ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकालाई जोड्ने झोलुंगे पुल निर्माणको अख्तियारी नमोबुद्ध नगरपालिकालाई प्रदान गर्ने निर्णय गरेको छ । सो झोलुंगे पुल निर्माणका विषयमा दुई स्थानीय तहबीच विवाद रहेको थियो ।

बैठकले विपन्न दलित सशक्तिकरण कार्यविधि स्वीकृत गरेको छ । यस्तै, सामाजिक विकास मन्त्रालयबाट प्रस्ताव पेस भएको शिक्षा नीति २०८० लाई स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयका सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर