गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्दै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एक बर्षे कार्यकाल हेर्दा सरकार असफल भएको बताएका छन् । मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्नुले सरकार असफल भएको पुष्टि हुने जिकिर गरेका हुन् ।

‘मैले त एक वर्षको समीक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोसिस गर्छु, सप्रिन्छु आदि । केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो । अरू केही छैन । सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिबीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ,’ ओलीले भने ।

तीन दिनसम्म चल्ने बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा गर्नुकासाथै तथा पार्टीको शुद्धीकरण र सुदृढीकरणकालागि सञ्चालन गरिने कार्यक्रमका बारेमा छलफल गरिने एमालेले जनाएको छ । बैठकमा तीनवटा प्रस्ताव पेश भएका छन् । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण,उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनआधारित कार्यकर्ता र पार्टी निर्माणका चुनौति र महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षाको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका छन् । बैठकबाट एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर