नेपालले पायो २४१ रनको लक्ष्य

काठमाडौं । क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि नेपाल ‘ए’ले २४१ रनको लक्ष्य पाएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन जोड्यो । श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए । पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए । हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४-४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।

कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए । नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । क्यानडा भने सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपको कप्तानीमा नेपाल मैदानमा छ । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर