कांग्रेस महासमिति बैठकको बन्दसत्र आजदेखि, प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि शुरू हुँदैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेको जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

महामन्त्री थापाको प्रतिवेदनलाई गएराति अन्तिम टुंगो लगाइएको थियो । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने सहमति जुटेको थियो ।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘आगामी चुनावहरू एक्लै लड्ने र कांग्रेसका समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्ने’ उल्लेख छ । बैठकमा पेस भएका प्रस्तावबारे महासमिति बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि शुरू भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर