रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने
काठमाडौं । ललितपुरको रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा संलग्न नाइके दिलकुमार बाराहीले बताए ।
ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको लागि सामदान जातको रुखको काठ चार फुटको १०८ टुक्रा चाहिने उनले बताए । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नु पर्ने चलन भए पनि यसपालि पुरानो पाङ्ग्राबाट काम लिन नसक्ने अवस्था भएकोले १२ वर्षे जात्रा नपरे पनि पाङ्गग्रा बनाउन लागिएको उनको भनाइ छ । यसभन्दा अघि २०७२ सालमा पाङ्गग्रा फेरिएको थियो भने त्यसलगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकाले २०७३ सालमा नयाँ फेरिएको थियो।
पाङ्ग्रासँग सम्बन्धित काम नेवार समुदायका बाराही र बौसी समुदायले गर्छन् । पाङ्ग्रा निर्माणका लागि १५ देखि २० दिनको समय लाग्ने अनुमान छ । रथको चार पाङ्ग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतीकको पमा लिने गरिन्छ ।