पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं ।  पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ शिखरडाँडामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। मृतक ९ जनाको सनाखत भएको छ। तिनाउ गाउँपालिकाको डुम्म्रेबाट यात्रुहरू बोकेर वडा नं ६ शिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नं को जिप दुर्घटना भएको हो। जिप सडकबाट तीन सय मिटर तल खसेको थियो।

मंगलवार साँझ पौने ५ बजे भएको उक्त जिप दुर्घटनामा परी १० जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए।
मृत्यु हुनेहरूमा तिनाउ गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीया यमकुमारी पन्थ, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसैगरी मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रबहादुर रणपाल र ६० वर्षीया तुना रणपाल छन्।त्यस्तै, पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ६१ वर्षीया दिलकुमारी सुनार, ६६ वर्षीया बिष्णुकला कामी, तिनाउ वडा नं ६ बस्ने २० वर्षीय गिता सुनारको उपचारको क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये एक जनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा परी घाइते भएका १७ जनाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइहेको छ। घाइते हुनेहरूमा तिनाउ ६ का २० वर्षीय कृष्ण पन्त, १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज,  १९ वर्षीय शान्ति राना, ९ वर्षीय सौरभ पुन र ४५ वर्षीय कुलबहादुर नेपाली छन्।

त्यस्तै पाल्पा रिब्दीकोट १ का ६ वर्षीय विद्या सुनार, ३० वर्षीय रमा सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षका आरभ सुनार, ६६ वर्षीय विष्णुकला कामी, रूपन्देही हरैयाका ३० वर्षीय भूमि पुन,  तानसेन ७ का ४२ वर्षीय सबिना परियार,  रुपन्देही देवदहका ९ वर्षीय विवेक जीसी,  तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदि,  रुपन्देही देवदहका ७ वर्षीय अस्मित जीसी छन्। घाइते ३ जनाको भने पहिचान नखुलेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ।

नाम नखुलेका दुई महिला र एक २ महिनाकी बालिका छन्।  चालक दानबहादुर चिदीले जिप पल्टिन लागेपछि हाम फालेको पाइएको छ। २७ जना यात्रु बोकेको जिपले घुम्ती काट्न नसकेर पछाडि गुड्न थालेपछि चालकले हाम फालेको जिपका अन्य घाइतेहरूले बताएका छन्। पाल्पाको तानसेन नगरपालिका वडा नं १० का चिदीलाई खुट्टामा सामान्य चोट लागेको प्रहरीले बताएको छ। चालक चिदीले पट्टा भाचिएपछि जिपबाट हाम फालेको प्रहरीलाई बताएका छन्।  उकालो सडकमा क्षमता भन्दा दोब्बर यात्रु चढाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

१४ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु थिए। पाल्पाको सदरमुकाम तानसेनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिम पर्ने उक्त ग्रामिण सडकमा ट्राफिक प्रहरीको कुनै चेकजाँच नहुने भएकाले जिपहरूले क्षमता भन्दा बढी यात्रु बोक्दै आएका छन्। स्थानीयका अनुसार उक्त जिप लामो समयदेखि नियमित रूपमा त्यस क्षेत्रका यात्रुहरू बोक्दै आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर