आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि नेपालको टिम घोषणा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि नेपालले अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
यसअघि टिममा रहेका अर्जुन साउद र रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ समेटिएका छन् ।
लिग–२ को पहिलो खेलमा नेपालले बिहीबार नामिबियासँग खेल्नेछ । सिरिजमा नेपालले दुवै टिमविरुद्ध दुई/दुई म्याच खेल्ने तालिका छ । सबै खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछन् ।