इङ्लिस प्रिमियर लिगको पछिल्लो अवस्था यस्तो छ

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले २ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बर्नलेलाई पराजित गरेपछि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो ।

लिभरपुल खेल सुरु हुनुअघि भने एक अंकले पछि पर्दै दोस्रो स्थानमा थियो । तर, बर्नलेमाथि ३–१ को शानदार जित निकाल्दै लिभरपुलले तालिकामा कमब्याक गर्न सफल भयो । सिटी भने लिभरपुलभन्दा एक खेल कम खेलेको छ । लिभरपुलको ५४ अंक हुँदा सिटीको ५२ अंक छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले ३१ औं मिनेटमा अग्रता लिएको थियो । डिएगो जोडटाले ट्रेन्ट आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा ओसियाले गोल गर्दै पहिलो हाफ बराबरी गरेका थिए ।

५२ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । ७९ औं मिनेटमा हार्भे इलियटको पासमा नुनेजले गोल थपेपछि लिभरपुल ३–१ को सहज जित निकाल्न सफल भयो । लिभपुरलसँग पराजित भएको बर्नले भने १८ औं स्थानमा छ । यसैगरी दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । सिटीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले दोस्रो हाफमा गरेका हुन् । हालान्डले ७१ औं र ८५ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए ।

शनिबारको खेलमा जित निकाल्दै  टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । ब्राइटनलाई पराजित गर्दै टोटनह्याम चौथो स्थानमा उक्लिएको हो । टोटनह्यामले ब्राइटनमाथि २–१ गोलको पुनरागमन जित निकाल्न सफल भयो । १७ औं मिनेटमा ब्राइटनले पेनाल्टीमा अग्रता लिएको थियो । पास्कल ग्रसले गोल गरेपछि लिएको अग्रता अन्त्यमा भने जोगाउन असफल भयो ।

६१ औं मिनेटमा पेपे सारले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा बेर्ननन जोनसनले हिउङ मिन सनको पासमा गोल गर्दै टोटनह्यामलाई स्पष्ट जितका साथ ३ अंक दिलाए । जितसँगै टोटनह्याम २४ खेलबाट ४७ अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लदा ब्राइटन भने समान खेलबाट ३५ अंकका साथ आठौं स्थानमा छ । यसैगरी रेलिगेशन खतरामा रहेको सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको छ ।

यसैगरी फुलह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि फुलह्याम १२ औं स्थानमा उक्लदा बर्नमाउथ भने १३ औं स्थानमा झरेको छ । फुलह्यामले घरेलु मैदानमा जित निकाल्दा रोड्रिगो मुनिजले २ तथा बोबी रेडले एक गोल गरे । मार्को सेन्सीले बर्नमाउथनका लागि एक गोल फर्काएका थिए ।

पाँचौं मिनेटमा बोबी रेडले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए । रोड्रिगो मुनिजले ३६ औं मिनेटमा गोल गरेपछि फुलह्यामले पहिलो हाफमा २–० को अग्रता लियो । ५० औं मिनेटमा मार्को सेन्सीले गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने प्रयास भने गरेका थिए । २ मिनेटपछि नै फुलह्यामका लागि रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो । जितपछि फुलह्याम २९ अंकका साथ तालिकाको १२ औं स्थानमा छ भने बर्नमाउथ २७ अंकका साथ १३ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर