आवतजावत नहुने एकान्त ठाउँमा सवारीसाधन पार्किङ नगर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं ।  नेपाल प्रहरीले हराएका २५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार शुक्रवारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले  हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कूटर रहेका छन् । यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२  सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक

नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेनलक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान नगर्दा चोरीका घटना बढ्ने गरेको छ । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता भट्टले सर्वसाधारणमा अनुरोध गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर