नेपाल-चीनबीच शनिबार मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाल र चीनको टोलीबीच शनिबार मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ वर्षको अवसरमा चीनको छिङ हाई युसुको युवा टोली र नेपालको २३ वर्षमुनिको टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनिया टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।
नेपालस्थित चिनिया दूतावास, राष्ट्रिय खेलकुद परिषद राखेप, नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो। एन्फाले चिनिया टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। एन्फाले खेल हेर्नका लागि साधारणतर्फ ३०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँको टिकट दर निर्धारण गरेको छ।