इमरान खान समर्थित उम्मेदवार ९९ सिटमा विजयी

काठमाडौं । पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेअनुसार शनिबार बिहानसम्म २५० सिटको नतिजा आउँदा सत्तारूढ पाकिस्तान मुस्लिम लिग नेश्नलिस्ट (पिएमएल-एन) दोस्रो बनेको छ। उसले ७१ सिट जितेको छ।

त्यस्ते बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टरियन्स (पिपिपी)ले ५३ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ। स्वतन्त्र जितेका उम्मेदवारहरू पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित हुन्। पिटिआईका अध्यक्ष समेत रहेका इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा छन्। चुनाव सुरू हुनु केही समयअघि विभिन्न अदालतले उनलाई पटकपटक जेल सजाय सुनाएको थियो।

उनले गैरइस्लामिक विवाह गरेको भन्दै गत शनिबार एक अदालतले उनलाई सात वर्ष जेल सजाय सुनाएको थियो। त्यसअघि उनलाई नेसनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) ले राज्यको उपहार बेचेको आरोपमा १४ वर्ष जेल सजाय सुनाएको थियो। यी दुई मुद्दामा उनकी श्रीमती बुशरा बिबीसहितलाई जेल सजाय सुनाएको हो। त्यसअघि साइफर मुद्दा अर्थात सरकारी गोप्य सूचना चुहाएको भन्दै १० वर्ष जेल समेत सुनाएको थियो।

पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर