एसियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै

काठमाडौं ।  १८औँ एसियन कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दैछन् । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि सुरु हुँदैछ । जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौं पटक एसियन कप खेलिरहेको छ ।

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ । सन् २००० र २०११ मा क्वार्टरफाइनलसम्म पुगेको कतारले २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ । त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक/एक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर