क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफ एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेले ६२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए । यस खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका थिए ।
बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिए । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिए । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर