आलु काटेर त्यसभित्र लागूऔषध राखेर तस्करी गर्ने पक्राउ

काठमाडौं । आलु काटेर त्यसभित्र लागूऔषध ब्राउन सुगर लुकाएर फेरि आलुलाई जोडेर भित्र्याउन खोज्ने दुई जनालाई ब्राउन सुगरसहित नेपाल भारत नाकास्थित जमुनाह प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट कञ्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तीर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिहा बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार भारतीय बजार रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरूले आलुको बोराभित्र आलुको दानामा उक्त लागू औषध ब्राउन सुगर लुकाएर राखेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज सही नवीन रिजालको कमाण्डमा खटिएको टोली र लागूऔषध ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी डाँगीले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यहाँस्थित नेपाल भारत नाका पारीको रुपैडिहा बजारमा खुला रूपमा लागु औषध बिक्री गरिने भएकोले तस्करले सोही लागूऔषध खरिद गरेर नेपालतर्फ भित्र्याउने गरेका छन् भने लागूऔषधको लतमा लागेका धेरै नेपाली युवा रुपैडिहा पुगेर नै सेवन गरेर फर्किने गरेका छन्। भारतबाट भित्र्याइएको लागूऔषधलाई बाँकेको नेपालगन्ज र कोहलपुर मात्र नभई सुर्खेत, दाङ, सल्यान र कालिकोट जुम्लासम्म पुर्‍याइने गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर