धरहराको निःशुल्क पार्किङ बन्द नहुने : मेयर बालेन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले  सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको आरोप लगाए ।  उनले आफू छउञ्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने चेतावनी दिए ।

  • हेर्नुहोस् पूरा स्टाटस :-

२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ” ।

तर केहीदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृतिलाई निरुत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदैछ , अझै व्यवस्थापन गर्दै लग्नेछौं । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर