वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चारजना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रोमानिया पठाउने भनी पाँच लाख ७४ हजार रुपैयाँ ठगी गर्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. १ स्थायी घर भइ हाल काठमाडौं तारकेश्वर बस्ने ३८ वर्षीय श्याम बहादुर भण्डारी पक्राउ परेका छन् ।

भण्डारीले शरण बुढाथोकीलाई रोमानिया जान आठ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा पेन्टरको काममा मासिक तलब एक लाख रुपियाँ हुने भनी विश्वास दिलाएका थिए । माल्दिभ्स पठाउने भनी चार लाख ४० हजार रुपैयाँ रकम ठगी गर्ने स्थायी घर खोटाङ वाक्सिला गाउँपालिका वडा नं. ४ भइ  हाल काठमाडौं काँडाघारी बस्ने ४३ वर्षीय फूलमाया खत्री पक्राउ परेकी छिन् । खत्रीले प्रकाश बुढाथोकीलाई माल्दिभ्स जान पाँच लाख रुपैयाँ लाग्ने र सेक्युरिटी गार्डको काममा मासिक तलब एक लाख रुपैयाँ हुने भनी विश्वास दिलाएका थिए ।

यस्तै, न्युजिल्याण्ड पठाउने भनी ११ लाख ५० हजार रुपैयाँ ठगी गर्ने चन्द्रबहादुर बुढाथोकी र टोपबहादुर सेजवाल दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थायी घर सल्यान भइ हाल काठमाडौं सामाखुशी बस्ने ४६ वर्षीय बुढाथोकी र ३३ वर्षीय सेजवालले खड्क राज गिरी समेत दुई जनालाई न्युजिल्याण्ड जान प्रतिव्यक्ति दश लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि फुड प्याकिङ काममा मासिक तलब दुई लाख रुपैयाँ हुने भनी प्रलोभनमा पारेका थिए । उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर