माधव नेपालको पूर्वराजालाई सुझावः “राम्रो प्रधानमन्त्री भएर विकल्प दिनूस्”

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भर्इ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिएका हुन् ।

उनले भने– ‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक स्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको, न खाजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन् । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ । चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न तपाईँ (ज्ञानेन्द्र) चाहनुहुन्छ भने तपाईँ आउनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर