विश्वकप क्रिकेट: नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रबारको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए भने दुर्गेश गुप्ताले अविजित २९ बनाए । साथै ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए भने आकाश चन्दले १८ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । भारतको जीतमा सौम्य पाण्डेले चार र असरिन कुलकर्णीले दुई विकेट लिए । साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनाएको थियो । उसका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर