पश्चिममा वर्षा र हिमपात, काठमाडौं छिटफुट वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौं र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा राति भने पानी पर्ने सम्भावना छैन । रातिदेखि उपत्यकाको मौसम खुल्दै जाने उनको भनाइ छ । पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा बुधबार रातिदेखि नै हिमपात भइरहेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकामा कति मिलिमिटर पानी पर्‍यो भन्ने यकिन भने भएको छैन। उनले भने, “उपत्यकामा कति मिलिमिटर पानी प¥यो भन्ने अहिले नै रेकर्ड भएको छैन । तर, छिटफुट पानी परेको जानकारी प्राप्त भएको छ ।” रातिदेखि उपत्यकाको मौसम खुल्दै जाने सम्भावना रहेको उनको भनाइ छ । पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा बुधबार रातिदेखि नै हिमपात भइरहेको छ ।

सबैभन्दा बढी पानी डडेलधुरामा

पश्चिमी वायुको प्रभावका कारण डडेलधुरामा सबैभन्दा बढी पानी परेको छ । मौसमविद् झाका अनुसार डडेलधुरामा ३२‍.८ मिलिमिटर पानी परेको छ । यस्तै कालीकोटमा २४.६ मिलिमिटर पानी परेको छ भने डोटीमा २३ मिलिमिटर पानी परेको झाले बताए । दैलेखमा १५.४ मिलिमिटर पानी परेको रेकर्ड मापन भएको छ ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको झाले बताए । उच्च हिमाली क्षेत्रमा हिजो रातिदेखि नै हिमपात जारी रहेको उनी बताउँछन् । हुम्लाको सिमिकोट, मुगुको ताल्चा विमानस्थल अखासपास, रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसमविद् झा बताउँछन् ।

पश्चिम तराईमा वर्षा, गहुँ बालीलाई फाइदा

चार महिनापछि पश्चिम नेपालको तराईमा वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो ।

यसअघि २०८० असोज २९ गते ३० दशमलव १ मिलिटर वर्षा भएकोमा त्यसयता वर्षा भएको थिएन । बुधबार राति हल्का वर्षा भएको छ । यो हिउँदको पहिलो वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार शुक्रबार राति सुदूरपश्चिमबाट सुरु भएको वर्षा बागमती प्रदेशमा पुगेको र पूर्वतर्फ सर्दै जानेछ । सुदूरपश्चिममा बिहीबार राति नै मौसम सुधार भई शुक्रबार मौसम सफा हुनेछ ।

लामो समयपछि भएको थोरै वर्षाले आकाशे पानीकै भर पर्नुपर्ने बालीका लागि भने पर्याप्त भएन । जल तथा मौसम विज्ञान विभाग महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीका अनुसार यहाँ १४ दशमलव २ मिलिमिटर मात्रै वर्षा मापन भएको छ । असोज २९ गते ३० दशमलव १ मिलिमिटर वर्षा भएको थियो ।

यस पटकको वर्षा थोरै भए पनि गहुँ, मसुरो खेतीलाई राम्रो भएको छ । पाकेको र टिपेर थुपारेको तोरीखेतीलाई भने नोक्सान पुगेको छ । कैलालीमा ३४ हजार हेक्टरमा गहुँ, १३ हजार हेक्टरमा तोरी र आठ हजार हेक्टरमा मसुरो खेती हुँदैआएको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर