सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तरगत नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ठूलो अन्तरमा पराजित भएको छ। नेपालले दिएको १७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर पूरा गर्यो। बंगलादेशको जितमा जिसान आलम र अरिफुल स्लामले अर्धसकत प्रहार गरे। नेपालका सुवास भण्डारीले ५ विकेट लिए पनि नेपालका अन्य बलर विकेटबिहिन भए।
ओपनर आलमलाई ५५ रन बनाउँदा क्याचआउट गराएका सुवासले आशिकर रहमानलाई १६ रनमै क्याचआउट गराएका थिए। चौधुर रिजवान १५, अहरार अमिन १२ र मोहम्मद शिहव जमेस शून्य रनमै आउट भए। स्लाम ५९ रनमा र शेख पाइभेज जिवोन ५ रनमा नटआउट रहे। ८ ओभर बलिङ गरेका सुवासले ४४ रन खर्चिएका थिए। गुल्सन झाले ४ ओभरमा २९ रन, आकाश चन्द ३ ओभरमा ४२ रन, दुर्गेश गुप्ताले ३ ओभरमा ११ रन र दिपेश कंडेलले ६ ओभरमा २९ रन खर्चिए पनि कुनै विकेट हात पार्न सकेनन्।
कप्तान देव खनालले पनि एक ओभर बलिङ गर्दै ११ रन खर्चिए भने अर्जुन कुमालले २ बलमा २ रन खर्चिएका थिए। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४९.५ओभरमा अलआउट हुँदै १६९ रन जोड्यो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए । अब नेपालले शुक्रबार भारतसँग खेल्ने छ।