इमरान खान दम्पत्तीलाई १४ वर्षे जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार अभियोगमा १४ वर्षे जेल सजाय सुनाइएको छ । एक दिन अघिमात्रै खानविरुद्ध गोप्य सरकारी जानकारी चुहाएको अभियोगमा १० वर्ष जेल सजाय सुनाइएको थियो । अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बीबीले आत्मसमर्पण गरेकी छन् । सन् २०२२ मा इमरान खानलाई विपक्षी दलले प्रधानमन्त्री पदबाट हटाएका थिए ।

यसअघि नै भ्रष्टाचारसँग जोडिएको अर्को मामिलामा खानले तीन वर्षे जेल सजाय काटिरहेका छन् । हिजो (मंगलबार) पनि खानलाई देशको गोप्य जानकारी चुहाएको आरोपमा सजाय सुनाइएको थियो । त्यसको भोलिपल्टै आज फेरि उनलाई भ्रष्टाचारसँग जोडिएको मामिलामा १४ वर्ष लामो जेल सजाय तोकिएको हो ।

खानले आफू केन्द्रित अधिकांश मामिला राजनीतिक स्वार्थप्रेरित रहेको बताउँदै आएका छन् । पाकिस्तानमा आम चुनाव हुनुभन्दा ठीक अघि खानलाई निर्वाचनमा भाग नै लिन नदिन अदालतले स्वार्थप्रेरित फैसला सुनाएका आरोप लाग्ने गरेको छ । खानलाई पाकिस्तानी प्रशासनले गत अगस्टमा गिरफ्तार गरेको थियो । त्यसयता उनलाई निरन्तर जेलमा राखिएको छ । पछिल्लो मामिलामा प्रधानमन्त्री पदमा रहँदा प्राप्त उपहारलाई खान दम्पत्तीले निजी फाइदाका लागि बेचेको आरोप लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर