प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ

काठमाडौं ।  रुकुमपश्चिम ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका थिए ।

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीय युवाबिचमा विवाद भएको थियो । विवादपछि होहल्ला गर्दै हिडेका युवालाई सम्झाइ बुझाइ गर्न खोज्दा केही युवाहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाइ छ । प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर