नेपाल आज अफगानिस्तानसँग खेल्दै, नेपालले सुपर सिक्समा स्थान बनाउला ?

काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल दिउँसो १ः४५ देखि इस्ट लण्डनस्थित बफेलो पार्कमा हुनेछ ।  नेपालले अघिल्लो दुई खेल पनि उक्त मैदानमै खेलेको थियो । नेपाल उक्त दुवै खेलमा पराजित भयो । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार बेहोर्‍यो ।

यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानविरुद्ध ५ विकेटले पराजित भयो । यता अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रन तथा दोस्रो म्याचमा न्यूजिल्याण्डसँग एक विकेटले स्तब्ध भयो । समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान जित्नैपर्ने दबाबमा छन् ।

साथै, शुक्रबार वर्षाले खेल रद्द भएको अवस्थामा नेपालले सुपर सिक्समा स्थान बनाउने समीकरण बनेको छ । अंक तालिकामा अफगानिस्तानभन्दा नेपालको नेट रनरेट राम्रो छ । अहिले नेपाल तेस्रो तथा अफगानिस्तान चौथो स्थानमा छ ।

अफगानिस्तानविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्सको यात्रा गर्न चाहन्छ । साथै, नेपाल गत डिसेम्बरमा यू–१९ एसिया कपमा बेहोरेको हारको बदला पनि लिने रणनीतिमा छ । एसिया कपमा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो । उक्त खेलमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमै अलआउट भयो । नेपाल यसपटक भने अफगानिस्तानविरुद्ध पूरा ओभर खेल्दै जित निकाल्ने दाउमा छ ।

अफगानिस्तानविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । शुक्रबार नेपालले उत्तम रंघु थापा मगर र दुर्गेश गुप्तालाई बाहिर राखेर विशालविक्रम केसी र तिलकराज भण्डारीलाई मौका दिने सम्भावना रहेको हो । उत्तमले न्यूजिल्याण्ड र पाकिस्तानविरुद्ध निराशाजनक प्रदर्शन गरे । पहिलो खेलमा शून्यमै आउट भएका उनले दोस्रो म्याचमा ४ रन मात्र जोड्न सके ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर