लाखौंको भीड थाम्न नसकेपछि अयोध्यामा राम मन्दिरको दर्शन बन्द

काठमाडौं । भारतको अयोध्यामा सोमबार भगवान् श्रीरामको मन्दिरमा मूर्तिमा प्राणप्रतिष्ठा गरिसकेपछि उर्लेको दर्शनार्थीको सागरलाई थाम्न नसकेपछि मन्दिरभित्र जाने सबै बाटो बन्द गरिएको अधिकारीहरू बताएका छन् । प्रभु श्री रामको विधिवत् अभिषेक गरिएको भोलिपल्ट आज मंगलबार यति ठूलो संख्यामा रामभक्तहरू भेला हुन थालेकि मन्दिर प्रशासन स्तब्ध हुन पुग्यो र दर्शनार्थीलाई व्यवस्थित गर्न निकै संघर्ष गर्नुपरेको थियो । अधिकारीहरूले मनिदरको दर्शन प्रयोजनले आएका बसहरू पनि रोकिएको जानकारी दिए ।

भीडका कारण मन्दिर परिसरमा राखिएको सुरक्षा ब्यारिकेट तोडिएपछि झडप समेत भएको थियो जसका कारण प्रशासनले हल्का बल प्रयोग गर्नुपरेको थियो । यस क्रममा धेरै भक्तजन घाइते पनि भएका छन् । मंगलबार मध्यरातदेखि मन्दिरबाहिर भक्तजनको भीड लाग्न थालेको र बिहानीपख झन् झन् बढ्दै गएको थियो । तर, यस अवधिमा दर्शन गरेर मात्रै फर्किने मानिसहरूले बताएका छन् । राम मन्दिर उद्घाटनपछि मंगलबार पहिलो पटक सर्वसाधारणका लागि मन्दिर खुलेपछि प्रभु रामको दर्शन गर्ने आस्था लहर छाएको थियो ।

रामललाको दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजन रामजन्मभूमि पुगेका थिए । बिहान साढे ६ बजे आरतीपछि मन्दिर खोलिएको राम जन्मभूमिका मुख्य पुजारी आचार्य सत्येन्द्र दासले भने, मन्दिर खुलेसँगै दर्शनका लागि भक्तजनको भीड लागेको छ । रामललाको दर्शन गर्न ठूलो संख्यामा भक्तजन दुई–तीन दिन बसेका थिए । भीडलाई मध्यनजर गर्दै दिउँसो एक घण्टा अगाडि नै मन्दिर खोलिएको थियो । पहिलो सिफ्टमा नै ५० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर