स्वास्थ्य बीमित अंगद खड्काको आरोप : “सूर्यज्योति लाइफ इन्सुरेन्स त ठग पो रैछ” (भिडियोसहित )

काठमाडौं । ” म अंगद खड्का । सूर्यविनायक नगरपालिका वडा नं. १० काे वासिन्दा हुँ । मैले ज्योति लाइफ इन्सुरेन्समा २०७७ साल भाद्र २४ गते जीवन बीमा गरेँ । त्यसमा मैले दुई वर्षको गरेर तीन लाख ३१ हजार रुपैयाँ भुक्तानी (प्रिमियम) गरेँ । भुक्तानी गरिसकेपछि उहाँहरूले धेरै मेहनत गरेर मलाई विश्वस्त (कन्भिन्स) पारेर राम्रोछ, त्यो छ भनेर मेडिकल बीमा सुनिश्चित हुन्छ भनेर, घातक रोगको बीमा हुन्छ, बीमाबाट सुविधा प्राप्त हुन्छ । भएन भने पनि तपाँईको पैसा सुनिश्चित हुन्छ । हामीले तपाँईको लगानीको पैसा दोब्बर (डब्बल) दिन्छौं भनेर कभिन्स गरे । मैले त्यहीँअनुसारको मैले बाँकी रकम तिरेँ । पैसा तिरिसकेको अवस्थामा म २०७८ साल मंसिर १३ गते म बिरामी भएँ । मलाई घातक रोग लाग्यो । म बेहोश अवस्थामा गंगालाल हस्पिटल लगियो । त्यहाँ लगिसकेपछि मेरो मुटुलगायत आवश्यक अंगको परीक्षण सुरु भयो । उक्त हस्पिटलका डाक्टरहरूको भनाइअनुसार मलाई धेरै तनावका कारण यस्तो भएको हो । तपाँईलाई आराम (रिल्याक्स) को जरुरी छ । यहाँभन्दा नजिको हस्पिटलमा जानुस् भनेर सल्लाह दियो । त्यसपछि मलाई धुलीखेल हस्पिटल लगियो । मलाई धुलीखेल हस्पिटलमा लगेको अवस्थामा मलाई उत्तानो पारेर राखेको र मेरो मुखबाट जिब्रो निस्किरहेको र नाकबाट रगत बगिरहेको अवस्था थियो । श्वासप्रश्वास बढिरहेको अवस्था थियो । त्यसपछि धुलीखेलका डाक्टरहरूले यहाँ हुँदैन भनेर तत्काल अन्नपूर्ण न्यूरो हस्पिटल लगेको र त्यहाँ पनि बसन्त डाक्टरसापले सर्जरी गरेपछि मात्र होसमा आउँछ अन्यथा हुँदैन भनेपछि उपेन्द्र देवकोटा न्यूरो हस्पिटल लगेर दुईसम्मको उपचारपछि त्यस हस्पिटलका डाक्टरहरूले आवश्यक परीक्षणपछि मलाई मेनेन्जाइटिस नामक रोग लागेको निदान गरियो । त्यहीँअनुरूप उपचार भनेपछि नौदिनपछि मलाई होश आयो । लामो समयसम्म उपचार पछि म घरमा आएँ । मेरो स्वास्थ्यस्थिति हेर्दा मलाई कसैले पनि बाँच्छ भन्ने सोचेको थिएन । यो अहिले मेरो दोस्रो जीवन होे । त्यहाँ क्रममा मैले इन्सुरेन्स गरेको कम्पनीका सूर्यज्योति इन्सुरेन्सका जिम्मेवार पदाधिकारीहरू आएर तपाँईलाई मेनेन्जाटिस भएको रहेछ, तपाँईले १२ लाख जति खर्च गर्नु भएको रहेछ, त्यही पैसा हामी दिन्छौं भनेर भनेका थिए । त्यहीअनुसार हस्पिटलले पनि मलाई उपचार गरेको विधिको सम्पूर्ण विवरणसहितको दस्तावेजहरू सुपुर्द गरेको थियो । तर एकाएक २०७८ साल चैत २२ गते तपाँईलाई जीवन बीमाको पैसा नदिने भनेर खबर गरियो । बीमाको पैसा किन नदिने भन्ने सम्बन्धमा कम्पनीले के भनेर जवाफ दियो भने बीमा गरेको बिरामी कि त मर्नुपर्छ रे वा बिरामी व्यक्ति पक्षघात (पारालाइसिस) भएर ओछ्यानमा पर्नुपर्छ रे । अन्यथा पैसा नपाउने रे । कम्पनीले त्यसो भने भने मैलै प्रतिपाद गरेँ र भने होइन मैले पैसा पाउनु पर्छ, होइन भने यो त ठगी भयो भेर भनेँ । बीमा गरिसकेपछि कुनैपनि मानिसलाई यसरी ठग्न पाइँदेन् भनेर जोड दिएँ । मान्छे मरिसकेपछि के पाइन्छ के पाइँदैन कसलाई थाहा छैन र । कोही मान्छे पारालाइसिस भएर आयो भने १२ लाख रुपैयाँले के उपचार हुन्छ ? मैले यस्तो कुरा गरिसकेपनि पनि उहाँहरूले मान्नु भएन । उहाँहरूले नमानिसकेपछि मैले २०७९ साल भाद्र २७ गते नेपाल बीमा प्राधिकरणमा गएर सूर्यज्योति लाइफ इन्सुरेन्सविरुद्ध निवेदन दिएर सुनुवाइ भयो र सुनुवाइपछि प्राधिकरणले २०८० साल मंसिर १५ गते मलाई क्षतिपूर्ति दिने निर्णय गर्‍यो । त्यो क्षतिपूर्ति दिने भन्ने प्राधिकरणको निर्णयको कपि लिएर म स्वयं कम्पनीमा गएँ । त्यस अवस्थामा कम्पनीले के भनियो भने ल ठीकै छ, यो ३५ दिन पर्खिदिनुस न भने । त्यसपछि मैले २०८० साल पौष २३ गते सोधपूछ गर्दा बीमा कम्पनीले हामीले प्राधिकरणको निर्णयविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छौं भन्यो । त्यसपछि मैले त्यसको विरुद्ध भने, हामीजस्तो शहरबजारमा बस्ने मान्छेहरूलाई त यस्तो दुःख र ठगी गर्नु हुन्छ भने अरू गाउँघरका मान्छेको त कुरै भएन । फेरि म प्राधिकरणमा गएँ र भने मलाई त पैसा दिएन उल्टो उनीहरू त अदालत गएछन् भने, त्यसबखत प्राधिकरणका मान्छेहरूले भने, होइन यो सूर्यज्योति इन्सुरेन्स कम्पनीले तपाँईजस्ता धेरै मान्छेहरूलाई ठगेका रहेछन् । उहाँहरू बीमितलाई पैसा दिने सोचका मान्छेहरू नै रहनेछ । उहाँहरू कानुन व्यवसायी पाल्नु हुन्छ, बीमा गराउनुस भनेर कभिन्स गराउन सक्ने मान्छे पाल्न सक्नुहुन्छ तर पैसा भुक्तानी गर्नुपर्दा अनेकन् समस्या तेर्स्याउने रहेछन् । त्यसपछि म के निष्कर्षमा पुगेँ भने सूर्यज्योति इन्सुरेन्स भनेको त ठग कम्पनी रहेछ । यसमा बीमा गर्नु हुँदैन । म त ठगिएँ । अब थप अरू सर्वसाधारण नठगियून भनेर जन जागरणका लागि प्रेस जगतमा आएको छु । यस्ता ठग कम्पनीलाई राज्य (सरकार) ले पनि लाइसेन्स बदर गरेर नियम, कानुनअनुसार दण्डित गर्नु पर्दछ भन्ने मेरो माग छ । र, कोही पनि मान्छेले १२ लाख रुपैयाँ भुक्तानी लिन १३ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था नआओस र प्रत्येक बीमा गरेका व्यक्तिले उचित क्षतिपूर्ति पाउन सकोस् भन्ने मेरो आग्रह छ । मेरो विचारमा मुलुकको विकासका लागि जस्तै शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा बीमा आवश्यक छ तर सूर्यज्योतिजस्तो ठग कम्पनीको आवश्यकता छैन । सूर्यज्योति इन्सुरेन्समा बीमा नगर्न आग्रह गर्दछु । ”

पीडित अंगद खड्काको आरोपबारे रफतन्युजडटकमका प्रतिनिधिसँग टेलिफोन संवादमा के तर्क गर्छन् त सूर्यज्योति लाइफ इन्सुरेन्स भक्तपुर शाखाका प्रमुख नन्द दथेपुथे:

” अंगद दाइ र हाम्रो सम्बन्ध भनेको त अशं नलाग्ने दाजुभाइको सम्बन्ध छ । तर यहाँ नातवाद, कृपावाद चल्दैन । तर मनले पनि कसैलाई अन्याय नपरोस भन्ने हाम्रो सोचाइ छ । तर कम्पनीको कुरा चाहिँ के भने, बीमा गरेको समयमा, त्योभन्दा अगाडिको समयमा उहाँलाई त्यो रोग लागेको छ नि त्योबेलादेखि नै मेनेन्जाइटिसको ओखति गर्दैआएको पत्तालाग्यो । यदि त्यो रोग नलागेको भए कम्पनीले अवश्य पनि दिन्थ्यो । तर बीमा गर्नु पूर्व उहाँलाई स्वाथ्यसम्बन्धी सोधपूछ गर्दा स्वथ्य रहेको बयान दिइयो । पछि आएर विश्वासको आधारमा बीमा गरियो । बीमा भन्ने त विश्वासको आधारमा गरिन्छ त । पछि उहाँले बीमा भुक्तानी दावी गर्दा उहाँलाई मेनेन्जाटिस रोग लागेको रैछ भन्ने भेटियो । त्यस्तो अवस्थामा कम्पनी बीमा भुक्तानी गर्न जिम्मेवार हुँदैन र छैन पनि । यो केशको सवालमा कम्पनी अदालत गइसकेको छ, सम्मानित अदालतले जे फैसला गर्छ त्यही सबैलाई मान्य हुनुपर्दछ ।”

(नोटः सम्प्रेषित समाचारका कुनैपनि अशंमा हामी कसैको पनि पक्षपोषण (लबिङ) गर्दैनौँ र गर्नेपनि छैनौँ । तर स्वास्थ्य बीमाजस्तो अपरिहार्य विषयलाई भने कानुनको छिद्र अन्वेषणभन्दा टाढा राखेर विवादमुक्त पार्नु पर्दछ भन्ने सर्वजनिन तथ्यलाई पनि नकार्न पनि मिल्दैन । बीमा व्यवसाय कानुनीभन्दा पनि बीमित र बीमा कम्पनीका बीच आपसी समझदारी र विश्वासको कडी हो । यो समझदारी र विश्वास लड्खडायो भने भोलि यो व्यवसायले गति लिन सक्दैन भन्ने हाम्रो भनाइ हो । कसैको पनि कानुनी अधिकारलाई हामी चुनौती दिन चाहँदैनौं र, दिने चेष्ठा पनि गर्दैनौँ । कानुन सर्वोपरी रहन्छ । –सम्पादक)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर