कर्मचारीतन्त्रसँग प्रधानमन्त्रीको प्रश्न : परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले किन लाइसेन्स पाएनन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले भने, “अहिलेको युग प्रविधिको युग हो। त्यसमा पनि सूचना–प्रविधि महत्त्वपूर्ण छ। हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रित भएर परिणाम दिनुपर्छ। त्यसका लागि राज्यका संयन्त्रबिच एकीकृत र समन्वयात्मक काम गर्नुपर्छ।” प्रधानमन्त्रीले थपे, “सबै कार्यालयमा मैले काम गर्ने होइन, काम त तपाईँहरूले गर्ने हो। मैले नीति निर्माण र योजनाको काम गर्ने हो, कर्मचारीतन्त्रलाई परेको अप्ठ्यारोमा गाँठो फुकाउने हो। नीतिगत निर्णय लिने हो। त्यसैअनुसार काम गर्नुस्।”

“फाराम भरेर पनि लाइसेन्स नपाएकालाई लाइसेन्स दिने काम विभागको भएको र त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु” प्रधानमन्त्रीले भने, “काम तपाईँहरूले नगर्ने गाली चाहिँ मैले खाने भइरहेको छ। लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन्। प्रधानमन्त्रीको आलोचना गर्छन्। तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन्। त्यो बुझ्ने कुरा पनि भएन । लाइसेन्स पाउने उनीहरूको अधिकार हो। यसमा लापरबाही नगर्नुस्।”

प्रधानमन्त्री प्रचण्डले भने, “म प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामा लाइन हटाउने प्रतिबद्धता गरेको थिएँ, एक वर्षको अवधिमा देखिनेगरी सुधार त भएको छ। तर, पूरै सुधार भएको छैन। त्यसमा गम्भीर रूपमा ध्यान दिनुस्। विभाग र सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउनुस् ।” सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ, हाम्रो आफ्नै सफ्टवेयर कहिले हुन्छ ? जिज्ञासा राख्दै प्रधानमन्त्री प्रचण्डले यसबारे सबैले गम्भीर भएर सोच्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, “स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ। रातारात सबै कुरा परिवर्तन गर्न सकिँदैन, योजनाबद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ। इन्जिनियरहरू आफैँ पढाउनु पर्छ। आफैँ तालिम दिनुपर्छ। देशलाई आवश्यक पर्ने जनशक्ति योजनाबद्ध तरिकाले उत्पादन गर्नुपर्छ। यसमा हामीले गम्भीर भएर सोचौँ र योजना बनाऔँ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर