भारतको अयोध्यामा भगवान श्रीरामको मूर्तिमा प्राण प्रतिष्ठा गरिँदै

काठमाडौं ।  भारतको अयोध्यामा बनाइएको नवनिर्मित राम मन्दिरको आज भव्य  उद्घाटन हुँदैछ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिमा प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा शुभारम्भ हुनेछ । भारतीय समयअनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् ।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त, महन्तलगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौँ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । रामनगरी अयोध्या मात्र नभई भारतभर घरघरमा दीपावली गरिएको छ ।

भारतमा भइरहेको उत्सवलाई नेपालमा पनि धार्मिक संघ संगठनले उत्साहका साथ स्वागत गरेका छन् । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालबाट माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुगेका छन् । नेपालबाट राममन्दिरका लागि शिला, जल र विभिन्न उपहार पठाइएको छ । विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा भव्य मन्दिर बन्नु र उक्त मन्दिरमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा हुनु आफैँमा ऐतिहासिक दिनका रुपमा अर्थ्याइएको छ ।

भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि नै अस्तित्वमा रहेको राम मन्दिरकै जगमा अहिले यो मन्दिर बनाइएको हो । मन्दिर निर्माण विश्वभरका हिन्दु धर्मावलम्वीका लागि गर्वको विषय बनेको छ । भारतको सर्वोच्च अदालतले राम जन्मभूमिमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदिएपछि सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकले स्वैच्छिक सहयोग गरेका छन् । यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् । तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ । हरेक तला २० फिट उँचाइका छन् । जमिनबाट गर्भगृहको चुचुरोको उँचाइ १ सय ६१ फिटको छ । मन्दिर निर्माणमा फलामको प्रयोग नै गरिएको छैन । मन्दिर ग्रेनाइट पत्थरबाट मात्रै बनाइएको छ । प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ ।

पिलर र ढोकाहरूमा विभिन्न भगवानका मूर्तिहरू कोरिएका छन् । मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ । भगवान रामको बालस्वरुप मूर्ति ५१ इञ्च अग्लो छ भने मूर्तिको दायाँ बायाँ र तल माथि सूर्य चन्द्रमादेखि विभिन्न देवगण तथा ऋषिहरुका आकृति पनि कुँदिएका छन् । मन्दिरमा पाँचवटा मण्डप तयार पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर