म्यान्मार सीमामा तारबार लगाउँदै भारत

काठमाडौं ।  भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मारसँगको खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीको आक्रमणबाट भागेर म्यान्मारका सयौं सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले सीमामा तारबार लगाउने घोषणा गरेका हुन्। उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा शाहले सरकारले खुला रहेका भारत–म्यान्मार सीमामा तारबार लगाउने निर्णय गरेको बताएका हुन्।

भारत र म्यान्मारबीच दुर्गम जंगलदेखि हिउँले ढाकिएका एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ। गृहमन्त्री शाहले स्वतन्त्र आवागमन सम्झौता रद्द गर्दै तारबार लगाउने घोषणा गरेपछि सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरू प्रभावित हुने जनाइएको छ। सीमा क्षेत्रका मानिस भिसाबिना एक अर्काको क्षेत्रमा ओहोरदोहोर गर्दै आइरहेका छन्। सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकबीच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ।  सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बंगलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर