भोलि जानकी मन्दिरमा सवालाख दीप प्रज्वलन गरिने

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

मन्दिरका महन्थ रामतपेश्वर दासले राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने बताए । यसका साथै सोमबार उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरे ।

उनले सो उत्सवलाई ध्यानमा राखेर तयारी तीव्र बनाइएको र कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरे । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन उनले सबैलाई आग्रह गरे । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अयोध्या पठाइसकेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार अयोध्या पुगेका छन् ।

माघ ८ गतेलाई सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी दासले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अङ्कित झण्डा झुण्ड्याइएको छ ।

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर