मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीको ताला

काठमाडौं । जनमत पार्टीले सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयमा आइतबार ताला लगाएका छन् । यस विषयमा मधेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवलाई उद्धृत गर्दै विश्वविद्यालयका रजिस्ट्रार श्री भगवान ठाकुरले भने, “आइतबार बिहान उपकुलपति र मलाई शिक्षामन्त्री यादवले राजविराजस्थित आफ्नै निवासमा बोलाएर कार्यक्रम स्थगनको दबाब दिनुभयो । त्यसको एक घण्टा नबित्दै विश्वविद्यालयमा जनमतका कार्यकर्ताहरूले हामीलाई गलहत्याएर विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।”

यसअघि नै विश्वविद्यालयको भवन शिलान्यास गर्नको लागि आफ्नो नेताबाहेक अरुलाई बोलाए कार्यक्रम बिथोल्ने र उपकुलपतिलाई कालोमोसो दल्ने जनमत पार्टीले चेतावनी दिएको थियो ।

सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयमा पठनपाठनको दोस्रो सत्र सुरु भइरहँदा आफ्नो शैक्षिक र प्रशासनिक भवन छैन । उक्त कार्यको लागि सम्पूर्ण प्रक्रिया पूरा भएर ठेक्का सम्झौता भइसकेको छ । त्यही अनुरूप आउने माघ ८ गतेको लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत मधेश प्रदेशका मुख्यमन्त्री समेतलाई बोलाएर भवन शिलान्यास गराउने विश्वविद्यालय प्रशासनको योजना थियो । त्यही विषयलाई लिएर जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज सहितका ३५–४० जनाको टोलीले मंगलबार विश्वविद्यालयको प्रशासनिक कार्यालय पुगेर उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रारलाई श्री भगवान ठाकुरलाई लखेट्ने धम्की दिएका थिए ।

जनमत पार्टीका जिल्ला इन्चार्ज समेत रहेका रामगमन साह, उपराष्ट्रपतिका उम्मेदवार तथा पार्टीका नेत्री ममता झालले उनीहरूलाई थर्काउँदै भनिन् “तपाईँहरू अन्य जिल्लाबाट आएर सप्तरीमा राजनीति गर्न लाग्नुभएको छ । यो कार्यक्रम तत्काल क्यान्सिल गरेर हाम्रो नेता सीके राउतलाई बोलाउनुस् । अन्यथा तपाईँहरूलाई कालोमसो दलेर यो जिल्लाबाट लखेटछौ ।”

यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश कृषि विश्वविद्यालयमा आफूहरूको योगदान रहेकाले मानमर्दन हुने कार्य स्वीकार्य नहुने बताए । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेश कृषि विश्वविद्यालयमा आफ्नो योगदान रहेको र योगदान गर्दागर्दै कुनै पनि संस्थाले हाम्रो मानमर्दन हुने गरी काम गर्ने पक्षलाई मनोबल घटाउने काम हामीलाई सह्य नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर