“विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने”

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको २६ औं भूकम्प दिवसको अवसरमा विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

नगरकोटमा आयोजित उक्त गोष्ठीको उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि पन्थीले विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीहरूको  हुनाले सञ्चारकर्मीहरूले सूचना सम्पेषण गर्दा सन्तुलित र वस्तुस्थितिमा आधारित हुनुपर्ने बताए । उनले यदि सञ्चारकर्मीले नकारात्मक ढंगबाट विपद्सम्बन्धी समाचार सम्प्रेषण गरेमा त्यसले विपद् उद्धारक टोलीका सदस्यहरूलाई दबाब पर्न जाने भएकाले सूचना प्रवाह सन्तुलित हुनुपर्ने उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत पन्थीले विपद्जस्तो मानवीय सहायताको क्षेत्रमा आफ्नो नगरपालिका सञ्चारकर्मीहरूसँग सदैव सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

चाँगुनारायण नगरपालिका वन, वातावरण समितिका संयोजक एवं वडाध्यक्ष सोमप्रसाद प्रधानले विपद्जन्य कार्यको उद्धारमा धेरै जोखिम रहेकाले पत्रकार वर्गबाट सहयोग र सल्लाहको अपेक्षा गरिएको बताए । गोष्ठीमा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्लाका उपाध्यक्ष सुन्दर शिल्पकारले विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीहरूले सही ढंगबाट घच्घच्याइएका कारण वास्तविक पीडितले राहत र उचित सहयोग पाइएको बताए ।

कार्यशाला गोष्ठीमा विपद् विज्ञ दिनेश थापाले विपद् जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगरपालिकाले आफ्नो स्रोत र साधन पर्याप्त नभएतापनि मानवीय सहायता र उद्धारका कार्य कुनै कमी आउन नदिएको बताए । थापाले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा ऐन, नियम, आपतकालीन कार्य सञ्चालन निर्देशिका, भू–उपयोग, भूमिव्यवस्थापन, भवन निर्माण मापदण्ड, मनसुन पूर्व तयारी, स्थानीय विपद् व्यवस्थापन तयारी समिति गठन, दमकल, एम्बुलेन्स र विपद् जोखिम न्यूनीकरणका लागि चाहिने आवश्यक उपकरणहरूको प्रयोगका लागि चाँगुनारायण नगरपालिकाले तीन करोड रुपैयाँको स्थानीय विपद् व्यवस्थापन कोष खडा गरेर राखेको जानकारी दिए ।

उनले विपद् जोखिम न्यूनीकरणका कार्य स्थानीय जनतासँग सम्बन्धित रहने हुनाले नगरपालिकाले आफ्ना नौवटै वडामा सहकारी संस्थाहरूसँगको सहकार्य र सहभागितामा कार्य गर्दै आएको र  उक्त कार्य  उपलब्धिमूलक रहेको पनि बताए । थापाले चाँगुनारायण नगरपालिकाले विगतमा विपद्मा परेका स्थानीयवासीलाई प्लास्टिक, त्रिपाल, र बोरालगायत अन्य राहत सामग्री वितरण गरेको जानकारी पनि दिँदै भने, “विपद्जन्य न्यूनीकरण कार्यमा सही र वास्तविक सूचनाको आवश्यकता रहने भएकाले नगरपालिकाले विपद् पोर्टल सञ्चालन गरेर सूचनामा स्थानीय जनताको पहुँच सुरक्षित गरेका छौं ।”

गोष्ठीमा वरिष्ठ पत्रकारद्वय पेशल आचार्य र पुष्करराज बुढाथोकीले “विपद् जोखिम न्यूनीकरणका लागि प्रेसको भूमिकाः केही महत्वपूर्ण तथ्य” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । संयुक्त कार्यपत्रको सान्दर्भिकता प्रस्तुत गर्दै वरिष्ठ पत्रकार बुढाथोकीले विपद्को सवालमा सही सूचना सम्प्रेषण गर्दा जनधन, सुुरक्षामात्र होइन, सही सूचनाले मानिसको ज्यानदेखि सम्पत्ति जोगाउन मद्दत पुग्ने चर्चा गरे । अर्का वरिष्ठ पत्रकार आचार्यले जाजरकोट भूकम्पसम्बन्धी राहत र उद्धारका प्रयासको समाचार संकलन गर्न जाँदा सञ्चारकर्मीहरूले सामना गर्नुपरेको कठिनाइ र अप्ठ्याराहरूको अनुभव साझा गरे ।

पत्रकारहरूलाई विपद् जोखिम न्यूनीकरणमा अधिकसेअधिक जानकारी दिन र पत्रकारहरूबाट सहयोग र सल्लाह प्राप्त गर्न कार्यशाला गोष्ठीमा सहभागी पत्रकारहरूलाई तीन समूहमा विभाजन गरी गहन र विशद् छलफल गराइएको थियो । तीन समूहको विपद् जोखिमसम्बन्धी व्यापक छलफलपछि विभिन्न निष्कर्ष, सल्लाह, सुझाव र सिफारिसहरू गरिएको थियो । गोष्ठीको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले सञ्चारकर्मीहरूले महत्वपूर्ण समय खर्चेर गरेको छलफलबाट निस्केका सल्लाह, सुझाव र सिफारिसहरू चाँगुनारायण नगरपालिकाका लागि मार्गदर्शन हुने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर