प्रधानमन्त्री असंलग्न शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन्। असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज (बिहीबार) बिहान युगान्डा प्रस्थान गरेका हुन्।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर