आर्मीमाथि बागमतीको जित

काठमाडौं । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको आर्मी सूर्यको घातक बलिङ सामु निक्न नसकेपछि २७.१ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए भने विवेक यादव ११ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सोमपाल कामी र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् । ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा भेट्टायो ।

बागमतीलाई जिताउन प्रतिश जीसीले नटआउट २१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका उनले २४ बलमा १ चौका र १ छक्का हानेका थिए । पाँचौ नम्बरमा ब्याटिङमा आएका अशोक पौडेले २१ रनमै अल आउट भए । आर्मीको सोमपाल कामीले ३ तथा सहाब आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर