मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा, हुस्सु र हिमपातका कारण मुलुकका विभिन्न ठाउँमा तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । यस्तै तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा समेत प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।

यसैबीच काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । “१९७८ यता काठमाडौंको तापक्रम माइनस ३.५ भन्दा कम गएको तथ्यांक छैन,” मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, “काठमाडौंका लागि त्यो सबैभन्दा चिसो वर्ष थियो ।” तर माइनसमा भने धेरै पटक गएको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ ।

१९९८ जनवरी २० मा काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्सियस मापन भएको थियो । २००० को जनवरी १६ मा पनि काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्यिस थियो । “१९७७, १९७८, १९८४ मा काठमाडौंमा माइनस २.६, माइनस २.४ तापक्रम थियो । काठमाडौंमा माइनसमा तापक्रम थुप्रै पटक गएको तथ्यांक छ,” मौसमविद् हुमागाईं भन्छन् । १९९७ डिसेम्बर २९ मा सिमकोटमा माइनस १७.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो नेपालमा तापक्रमको रेकर्ड राख्न थालेयताकै सबैभन्दा कम तापक्रम हो । “यो तथ्यांक हाम्रो रेकर्डमा छ । तर यसलाई पुनः एकपटक हाम्रा छुट्टाछुट्टै स्टेसनमा गएर भेरिफाइ गर्नुपर्छ भन्ने लाग्छ,” उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर