अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार आएको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनःनिर्माणको काममा अघि बढेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा पार्टी पूर्णररूपले पुनःनिर्माण हुने उनको भनाइ छ । पार्टीको जिल्ला समन्वय समिति अर्खाखाँचीद्वारा सोमबार आयोजित राजनीतिक एवं वैचारिक प्रक्षिण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “पार्टी पुनःनिर्माण र सरकारका काम कामकारवाहीलाई फरक ढंगले लगेका छौं । म युगाण्डाबाट फर्किएपछि थप प्रभावकारी रूपमा काम अघि बढाउँछु ।”

प्रधानमन्त्री प्रचण्डले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुगाउन सरकारका राम्रा कामका बारेमा जनतालाई सुसुचित गराउन र जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसैको आधारमा दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताए । उनले भने, “मैले सरकारको नेतृत्व लिँदा अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदैगएका छन् ।”

प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार आएको चर्चा गर्दै भने, “यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ ।” प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन छिट्टै पारित गरेर कार्यान्वयन लैजाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर