आजदेखि दैनिक पाँच करोड लिटर मेलम्चीको पानी काठमाडौंमा वितरण

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । काठमाडौंको अनामनगर, मीनभवन, महाँकालचौर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्र र भक्तपुरको टिगनीमा क्रमिक रूपमा दैनिक पाँच करोड लिटर पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो ।

कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदैछ ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौंमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरूपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर