प्रधानमन्त्रीद्वारा मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।’’

उनले भने, ‘‘मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सिएमसीसँग ठेक्का रद्द भएपश्चात् उक्त कम्पनीसँग आबद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्यालगायत विविध कारणले आयोजनाको काम पटक–पटक अवरुद्ध हुन गएकाले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिनेछ।’’

प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना बनाई अगाडि बढाइने बताए। उनले काठमाडौं उपत्यकाको जनसङ्ख्याको चापलाई दृष्टिगत गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर