क्रिकेट खेलाडी छनोटप्रति बाँकेको असहमति

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
छनोट प्रतियोगितामा विजेता बनेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरी २२ जना खेलाडीको नाम छनोट गरिएको प्रति बाँकेले असहमति जनाउँदै खेलाडी नपठाउने निर्णय गरेको हो । लुम्बिनी प्रदेश क्रिकेट सङ्घलाई पत्र पठाएर सङ्घले बाँकेबाट टिममा परेका ३ जना खेलाडी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नगराइने जानकारी गराइएको बाँकेका अध्यक्ष सरोवर प्रसाईले बताए । उनले बाँकेलाई अन्याय गरेर निर्माण भएको टिममा आफ्ना खेलाडी सहभागी नगराउने निर्णय गरेर पत्र पठाएको बताए ।
लुम्बिनी प्रदेश क्रिकेट टिममा सुसान्त सिह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लभकुश यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अलि, अजित यादव, नर बहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, बिराट भण्डारी, बिर बहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङलाई छनोट गरिएको छ ।
छनोटमा पर्दा लिग जितेको जिल्लाका राम्रा खेलाडीलाई छुटाइएको बताए । अध्यक्ष प्रसाईले लिग चरणमा हारेको टिमबाट कप्तानसहित ५ जना खेलाडी छनोट गर्दा प्रथम भएको टिमबाट ३ जना मात्र खेलाडी छनोट हुनु सरासर अन्याय भएकाले आफ्ना खेलाडी नपठाउने निर्णय गरिएको बताए ।
सङ्घका सदस्य धीरज क्षेत्रीले छनोट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरुले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनोट गरिएको जनाउँदै विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना नरहेको हुँदा आफुहरुले सही निर्णय गरेको दाबी गरे । पुस १२ देखि पुस २२ गतेसम्म सञ्चालन भएको छनोट प्रतियोगिताको उपाधि विजेता बाँके जिल्लाले आफनो टिमबाट कम खेलाडी परेको भन्दै पत्र पठाएको प्रदेश सदस्य क्षेत्रीले बताए ।