बिसे नगर्चीका सन्ततिद्वारा पृथ्वीनारायणको सालिकमा नगरा लगाए
काठमाडौं । शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरि डाँडामा निर्मित उनको सालिकमा बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई श्रद्धाञ्जली अर्पण गरेका छन् । चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको स्थल भएकाले त्यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ ।
पृथ्वीनारायण शाहले त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौैं उपत्यका) माथि विजय हासिल गर्ने प्रण यही डाँडाबाट गरेको इतिहास रहेकाले चन्द्रागिरि हिल्स लिमिटेडले वि.सं. २०७४ मा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना गरेको थियो ।
गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनाई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरे । इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथि हुन् । गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ ।
त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रति घरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैँले एक रुपैयाँ झिकेर राजालाई दिर्इ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ । यसरी संकलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ ।
त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइ दिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो । गोरखा माझकोटमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि वि.सं. १८२६ विजय हासिल गरेपछि आधुनिक नेपालको जग बसालेका थिए । उनको जन्मदिन पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा नेपालभर मनाउने गरिएको छ ।