सम्भवत: माघ १ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने

काठमाडौं । अघिल्लो मनसुनको बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंवासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो । परिमाण बढाउँदै दैनिक दुई हजार प्रतिसेकेण्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

२०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौं पठाउन सकिएको छैन । सुरुङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो । बाढीले सुरुङ मार्गको हेडवर्क्ससहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो । सोही कारण आंशिक रूपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो । त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगासहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) अलपत्र परेको थियो । त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो ।

मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर