बार्सिलोना सुपर कपको फाइनलमा

काठमाडौं । साबिक विजेता बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलमा बार्साले ओसासुनालाई दुई–शून्य गोलले पराजित गरेको हो। साउदी अरेबियाको रियादमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पोसेसनमा दबाब बनाए पनि बार्साले ब्रेक अघि ओसासुनाविरुद्ध डेडलक तोड्न सकेन।
छैटौँ मिनेटमा बार्साका आन्द्रियस क्रिस्टेन्सनले गरेको प्रहार अरेराले बचाए। आठौँ मिनेटमा फरान टोरेसको गरेको प्रहारले पनि पोस्टको दिशा लिएन। ओसासुनाका आन्ते बुदिमिरले सुनौलो मौका गुमाएका थिए। बार्सा गोलकिपर इनाकी पेनाले त्यति धेरै चुनौतीको सामना गर्नु परेन। ५९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सालाई अग्रता दिलाए।
इन्जुरी समयमा लमिल यामनले गोल गरेपछि बार्सा सेमिफाइनलमा दुई–शून्यको जित हात पार्दै उपाधि नजिक पुग्यो। आगामी सोमबार राति हुने फाइनलमा बार्सा र रियाल मड्रिड आमने सामने हुनेछन्। रियालले सेमिफाइनलमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो। गत सिजन बार्साले रियाललाई तीन एक गोलले हराउँदै १४ औँ पटक स्पेनिस सुपर कपको उपाधि जितेको थियो।