नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं ।  नेपालले आईसीसी यू-१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित निकालेको हो। जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।

नामिबियाका कप्तान बसिंग-वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन् । नेपालका गुलशन झाले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ५.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाको कारण ढिलो सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो।

नेपालका लागि १०औं नम्बरमा आएका दिपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे। ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दिपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल बिक्रम केसी १४ र दिपक बोहरा १५ रनमा आउट भए। नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए ।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ। नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर