आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

काठमाडौं । आज पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ ।

पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गरेका थिए ।

नेपालको भूअवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न दिएको दिव्योपदेश अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ । दिव्यउपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको छ ।

पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो । राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीका छोरा थिए। पृथ्वीनारायण शाहका दिव्य उपदेशको चर्चा सदैव हुने गरेको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर