डा. गोविन्द केसी माइतीघर मण्डलाबाट पक्राउ

काठमाडौं  ।  डा . गोविन्द केसी काठमाडौँ माइतीघरबाट पक्राउमा परेका छन् । डा. केसीलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। निषेधित क्षेत्रमा मुखमा टेप लगाएर विरोध प्रदर्शनमा उत्रिएका डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। हाल डा केसीसहित पक्राउ परेकाहरुलाई​ प्रहरी वृत्त सिंहदरबारमा राखेको  छ। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि पनि गत शनिवार डा केसीसहितको समूहलाई प्रहरीले माइतीघरबाटै पक्राउ गरेको थियो। शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिश समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार माइतीघर, नयाँ बानेश्वर क्षेत्रमा यही मंसिर ४ गतेदेखि निषेधाज्ञा तोकेको छ। शुरुमा ३० दिनसम्मका लागि तोकिएको निषेधाज्ञा लगातार बढाइएको छ। निषेधाज्ञामा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर