कोशी प्रदेशमा सिटौलाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले मनोनयन दर्ता गरेका छन् । विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १२ बजेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले जनाएको छ ।

कोशी प्रदेशमा एक जना महिला र एक जना अन्य गरी दुई जना सदस्यका लागि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेस र महिला तर्फ नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको थियो । उम्मेदवार सिटौलाले कांग्रेसका प्रदेश सांसद प्रदीप सुनुवार प्रस्तावक र कांग्रेसकै प्रदेश सांसद हिमाल कार्की समर्थक बसेर उम्मेदवारी दिए । यसैगरी चम्पादेवी कार्कीलाई माओवादी केन्द्रका प्रदेश सांसद गणेश प्रस्तावक र कांग्रेसका प्रदेश सांसद रामकुमार खत्री समर्थकमा रहेर उम्मेदवारी दर्ता गराइन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग सिटौलाले आफ्नो उम्मेदवारी मापदण्डअनुसार नै सर्वसम्मत भएको जानकारी दिए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कोशी प्रदेशमा नेपाली कांग्रेसको ३,७२२, एमालेको ४,२१०, नेकपा माओवादी केन्द्रको १,२७८, नेकपा एकीकृत समाजवादीको ३४५, जनता समाजवादी पार्टीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कुल १०,१३५ मतभार रहेको कोशी प्रदेशमा वर्तमान गठबन्धनअनुसार नै मतदान भएमा सत्तारुढ गठबन्धनले ५,४७४ मतभार पाउने, एमालेले ४,२१० र राप्रपाले ३९४ मतभार पाउने देखिन्छ । अहिलेसम्म सत्तारुढ गठबन्धनबाट दुई जना, नेकपा एमालेबाट दुई जना र राप्रपाबाट अन्यतर्फ गरी ५ जनाको उम्मेदवारी दिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर