भारतका गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति

काठमाडौं ।  बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको शेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रवार एक पटक फेरि एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका अडानीको व्यक्तिगत सम्पत्ति झन्डै ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उनको व्यवसाय दुवैले ती घाटामध्ये धेरैजसोलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस हप्ता अडानीको कुल सम्पत्ति झन्डै सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवै जना धनी व्यक्तिको सूचीमा अहिले विश्वको १२ औँ र १३ औँ स्थानमा छन् ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस हप्ता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको शेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको देखाएको छ’, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा  ‘म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ’,भन्ने लेखे ।

हिन्डनबर्गको प्रतिवेदनअघि अडानी समूहको शेयर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो । समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवम् हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उनीहरूबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर