अमेरिकामा एक विद्यार्थीको हत्या

काठमाडौं । अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ । १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन् । स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ ।

आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन् । दुईवटा बन्दुकसहित आएका ती किशोरले गोली चलाएको दृश्यहरु विभिन्न सामाजिक सञ्जालमा पोस्ट पनि गरेको खुलेको छ । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको मृत्यु हुने घटना सामान्यजस्तो बन्दै गएको छ । पछिल्लो घटना नयाँ वर्ष २०२४ सुरु भएयताको चौथो सामूहिक गोली काण्ड भएको सीएनएनले जनाएको छ ।

पटक-पटक हुने यस्ता गोलीकाण्ड कम गर्न उपयुक्त सुरक्षा व्यवस्था अपनाउनुपर्ने माग उठ्दै आएपनि ठोस नीतिगत व्यवस्था हुन नसकेको अमेरिकी अभिभावकहरुको गुनासो छ । अमेरिकामा बन्दुक सजिलै उपलब्ध हुने कारणले पनि यस्तो अवस्था आएको हो । अमेरिकाका अधिकांश राज्यमा बन्दुक घरमा राख्‍न पाइने कानुन छ । जसका कारण यस्ता घटना हुने गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर