भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा बिहीबार दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरूप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो।

सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले दुई देशका ऊर्जा सचिवबीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौता भएको बताए । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यु स्पेस इन्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ। त्यसैगरी काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको उनले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ केभी पावर क्षमताका तीन वटा प्रसारण लाइनको उद्घाटन भएको बताए । उनले भैरहवा, रक्सौल–परवानीपुरको सेकेन्ड सर्किट र कुसाहा–कटैता सेकेन्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतबीचमा ऊर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए । घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर